काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो भने राप्रपा र रास्वपाले एमालेलाई साथ दिएका छन् ।
विपक्षी दलको अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद चलाउन खोजेपछि एमाले र रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए भने राप्रपाका सांसदहरु वेल घउराउ गर्न पुगेका थिए । जसले गर्दा सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री दाहालको अभिव्यक्तिविरुद्ध एमालेले राष्ट्रियसभा पनि अवरुद्ध पारेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रधानमन्त्री दाहालले जवाफ होइन, राजीनामा दिनुपर्ने बताएका छन् ।