काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैद हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो ।
गौचनको हत्यामा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताएका छन् ।
यो प्रकरणमा ७ जनाले सफाई पाएका छन् भने ७ जना अझै फरार छन् । सफाइ पाउनेहरुमा प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो, राजकुमार शाह, मुकेशकुमार पान्डे, श्याम गुप्ता र सुर्यबहादुर बाजी रहेका छन् ।
फरारहरु गंगाप्रसाद लिम्बु, अजय थापा, समिकला राई, प्रवेश नायव, सुजा थक्सु बाजी, सुधिरकुमार साह र प्रदीपकुमार झाको हक फैसला भएको छैन । गत असार १२ गते कसुर ठहर भएकामा सजाय निर्धारण बुधबार भएको हो । यो घटनामा प्रतिवादी बनाइएका मनोज पुन र बसन्त थेवेको मृत्यु भएको भन्दै दावी खारेज गरिएको छ।
गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको थियो । गोली प्रहार भएलगत्तै अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
दोषी ठहर भएको समूहमाथि चन्दा असुली र फिरौतीमा संलग्न भएको आरोप थियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको अनुसन्धानमा, उनीहरुले भाडाको व्यक्ति प्रयोग गरेर गौचनको हत्या गरेको खुलेको थियो ।


















