जेनेभा । जलवायु परिवर्तनले भोकमरी र पीडाको ‘साँच्चिकै डरलाग्दो’ भविष्य निम्त्याउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार चेतावनी दिएका छन् ।
भोल्कर तुर्कले जलवायु सङ्कटसँग जुझ्दा छोटो अवधिका लागि मात्र सोच्ने विश्वका नेताहरूको आलोचना गरेका हुन ।
तुर्कले खाद्य अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बहसमा भने, “चरम मौसमी घटनाहरूले बालीनाली, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई नष्ट पारिरहेको छ । यसले गर्दा समुदायहरूको उच्थान र सहयोगका लागि काम गर्न कठिन बन्दै गएको छ ।”
“सन् २०२१ मा ८२ करोड ८० लाखभन्दा बढी मानिसले खाद्यान्न असुरक्षा र अभावको सामना गरिरहेकोमा जलवायु परिवर्तनले यस शताब्दीको मध्यसम्ममा थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको छ,” तुर्कले भने ।
उनले भने, “मानव जीवन थप कष्टकर बन्ने वातावरणको सिर्जना भएको छ । हाम्रो वातावरण जलिरहेको छ । यो पग्लिरहेको छ । बाढी आएको छ । उत्पादनहरू घट्दै गएको छ । वातावरण सुख्खा बनिरहेको छ ।”
जलवायु परिवर्तनलाई सम्बोधन गर्नु मानव अधिकारको मुद्दा भएको र जलवायु परिवर्तनबाट आउने जटिल सङ्कट टार्न अझै पनि कार्म गर्न समय छ । तर त्यो समय अहिले नै भएको र ढिलो गर्नु नहुने उनले बताए । एएफपी