काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भदौमा उत्तरी छिमेकी मुुलुक चीनको भ्रमणमा जाने भएका छन् । केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणको मिति तय भइसकेको वताएका थिए । तर उनले अहिले नै मिति सार्वजनिक नभएको बताएका थिए ।
आज परराष्ट्र मन्त्री एनपी साउदले पनि प्रधानमन्त्रीको चीन भ्रमण भदौमा हुने बताएपनि कति गतेबाट भन्ने खुलाएनन् । कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको बताएका छन् ।आर्थिक र राजनीतिक रुपमा पनि उदाएको चीनको विकासको छलाङलाई नेपाल पनि उपयोग गर्न सक्नुपर्ने वताउँदै मन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुने बताएका छन् ।
साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताउँदै सामाजिक र सांस्कृतिक सम्बन्ध पनि रहेको बताएका छन् । पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुने बताउँदै चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सकिने बताएका छन् ।
दल विशेषको परराष्ट्र नीति र नेता विशेषको सम्बन्ध भएर नहुने बताउँदै अब सबैलाई स्वीकार्ने परराष्ट्रनीति बनाउने उनले दावी गरेका छन् ।
गत जेठ १७ देखि २१ सम्म भएको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि केही ठूला उपलब्धि भएको दाबी गर्दै मन्त्री साउदले भारतले १० हजार मेगावाट बिजुली किन्न तयार छ भनेर एमओयू गरेको बताएका छन् ।
यसैवीच मन्त्री साउदले आफू सोमबारै अजरबैजान जान लागेको पनि बताएका छन् । अजरबैजानको बाकुमा हुने परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका छन् ।