बारा । केन्द्र सरकार र प्रदेश सरकारले स्थानीय तहलाई पठाउने विकास बजेटमा हाकाहाकी घुस लिने गरेको तथ्य बाहिर आएको छ ।
कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले केन्द्र र प्रदेश सरकारले हाकाहाकी घुस लिने गरेको खुलासा गरेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौं र जिल्ला समन्वय समिति बाराको संयुक्त आयोजनामा कलैया उपमहानगरपालिकाको सभाहलमा आईतवार आयोजित भ्रष्टाचार नियन्त्रण, हाम्रो साझा दायित्व सचेतना अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले केन्द्रदेखि तलसम्म सबै बेईमान रहेको आरोप लगाए ।
सरकारका मन्त्री र उच्च ओहदाका कर्मचारीले विकास बजेटमा मलेप गर्न खटिएका कर्मचारी मार्फत कमिशन उठाउदै आएको तथ्य उनले सार्वजनिक गरे ।
यदि ती कर्मचारीलाई खुश पारी तोकिएको कमिशन नदिएमा पालिकाको नाममा बेरुजु ठहरिने गरेको उनले जानकारी दिए ।
पालिकाको हिसाब किताब फर्छ्यौट गराउन र पालिका भित्रको अनियमितता लुकाउन पालिकासहितका सरकारी कार्यालयले मलेप गर्न खटिएका कर्मचारीलाई कमिशन दिने गरेको उनले जानकारी दिए ।
नगरप्रमुख साहले आफु बाहेकका सबै नेता मन्त्री, केन्द्र देखी तल सम्मका सबै कर्मचारी भ्रष्ट रहेको दाबी गरे । साहले स्थानीय सरकारको अनियमितता यसरी नै कमिशन दिएर मेटाउने गरिएको समेत दाबी गरे ।
केन्द्र देखी तल सम्मका कर्मचारीलाई दिने गरिएको कमिशनकै कारण विकास निर्माणको काम गुणस्तरहिन र ढिलासुस्ती हुने गरेको उनले बताए ।
जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरिक्षक होविन्द्र बोगटी, बाराका १६ वटै स्थानीय तहका पालिका प्रमुखलगायत उपस्थित थिए ।
























