काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले अलिकति पनि हेलचेक्राइ गर्ने हो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने बताएका छन् ।
जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सवका साथै गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले आन्तरिक र बाह्य परिस्थिति हेर्दा अहिले लोकतन्त्र र राष्ट्रका लागि खतरा उत्पन्न भएको भन्दै अलिकति पनि हेलचेक्राइ गर्ने हो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने बताए ।
अहिले सामान्य सुधारबाट समस्याको समाधान नहुने भएकाले देशका लागि अन्तिम लडाई लड्नुपर्छ भन्ने उदेश्यका साथ आफुले जसरी पनि प्रधानमन्त्री बन्न प्रयत्न गरेको र सफल भएको उनले बताएका छन् । प्रधानमन्त्री दाहालले देशमा देखिएका बिसंगति र विकृति अन्त्य गर्नका लागि आफु दृढ रहेको र यसका लागि कांग्रेससँग सहकार्य आवश्यक ठानेरै गठबन्धनलाई बलियो बनाउन लागेको धारणा दावी गरेका छन् ।
त्यस्तै उनले कांग्रेस र कम्युनिष्ट मिलेर नै हालसम्मको परिवर्तन सम्भव भएकाले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने उल्लेख गरेका छन् । अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोशिस भइरहेको भन्दै जनताको अवस्था बदल्न आत्मसमीक्षा गर्न जरुरी रहेको दाहालले बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय शिक्षा ऐनजस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्ने र विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त बनाउनुपर्ने बताएका छन् । उनले ऐन पारित नभएर मात्रै शैक्षिक क्षेत्रको सुधार नहुने भन्दै प्रयाप्त बजेट र प्राथमिकताका आधारमा शैक्षिक क्षेत्रलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले विश्वविद्यालय थलापरेको अवस्थामा रहेको र यसको दोष राजनीतिक दलहरुले लिनुपर्ने धारणा राखेका छन् ।