चितवन । पहिरो पन्छाएपछि नारायगढ–मुग्लिन सडक दुइतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ । इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो ।
अहिले पहिरो पन्छाई सडक दुवैतर्फ गाडी चलाउन हुनेगरी खुलाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालक घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार रातिदेखि बन्द सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो । सोही स्थानमा गत आइतबारदेखि पटकपटक पहिरो खस्दा सडक बन्द हुने सिलसिला जारी छ । रासस



















