भरतपुर । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिएका छन् । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको छ । ट्रकका चालक सामान्य घाइते भएका छन् ।
अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिएका छन् ।
उक्त स्थानमा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्नु परेको छ । बिहीबार २७ घण्टा पछि खुलेको सडक आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको थियो । आइतबार साँझबाट सञ्चालनमा आएको सडक आज विहान २ बजे आएको पहिरोले पुनः अवरुद्ध भएको हो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।



















