काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थीहरु पुनः एकतावद्ध हुनुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रममा उनले समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरिएको बताउँदै कमीकमजोरी सच्याएर नेकपा व्युँताउनु पर्ने बताएका छन् ।
आफू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेकपातर्फ फर्किनुपर्ने पक्षमा रहेको वताउँदै तत्कालीन नेकपामा हुँदा भएका त्रुटि सच्याएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
तत्कालिन नेकपामा विचार, राजनीति, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटि भयो ? के प्रकृतिका कारणले नेकपा विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि बढ्ने जमर्को गर्नुपर्ने दाहालले बताएका छन् ।
कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर एमाले अध्यक्ष ओली र आफूले कम्युनिष्टहरूलाई एकतावद्ध गरेको स्मरण गर्दै उनले अब कम्युनिष्टले आफ्ना त्रुटि सच्चाएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताउँदै दाहालले पार्टी विभाजन हुनुमा आफू कसैलाई दोष नदिने बताउँदै बताएका छन् । उनले एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्ने बताएका छन् ।