पोखरा । अर्थमन्त्री प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् ।
शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
उनले अगाडि भने, ‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेका छौं ।’
‘हाम्रो अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’ उनले भने, ‘अर्थतन्त्रको गतिशीलतामा समस्या आइरहेको थियो । लगानीको वातावरण राम्रो भइरहेको थिएन । बैंकमा व्याजदर बढी थियो ।’
यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनको भनाई छ । उनका अनुसार वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ भने पर्यटन व्यवसाय फस्टाउँदै गएको छ, जसकाकारण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको छ ।
बैंकको ब्याजदरमा पनि कमी हुन थालेको जनाउँदै उनले भने, ‘अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ, बजेट निर्माणमा धेरै चुनौति थिए, राजस्व अनुमानभन्दा धेरै कम उठेको थियो । वैदेशिक ऋणको ब्याज तिर्ने दायित्व बढ्दै गएको छ । अर्को वर्ष अझ बढ्छ । पूँजीगत खर्च धेरै विनियोजन गर्न सक्ने अवस्था थिएन । साउ ब्याज तिर्ने दायित्व र सामाजिक खर्च घटाउन नसक्ने अवस्था थियो ।’
‘नेपालमा पूँजीगत खर्च नहुने अर्को ठूलो समस्या आजको वास्तविकता भएको जनाउँदै अर्थमन्त्री महतले यस बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्ने जनाएका छन । ‘बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौं’ मन्त्री महतले भने ।
यसैका आधारमा पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई बैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको उनको भनाई छ ।
मन्त्री महतले भने, ‘जुन समुदाय वा वर्गले बढी सुविधा लिइरहेका थिए, करको दायरामा आइरहेका थिएनन, उनीहरुलाई करको दायरामा ल्याउने काम हामीले गरेका छौं । राजस्वको दायरा अब फराकिलो हुन्छ । राजस्वतर्फ निर्धारण गरेको लक्ष्य भेट्न हामीलाई सहज हुन्छ ।’
























