पोखरा । आजबाट पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु हुँदैछ । गण्डकी प्रदेश सरकारको अगुवाइमा हुने भेला दुई दिन चल्ने छ ।
भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिएकी छिन् ।
मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने बताइएको छ । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ।
मुख्यमन्त्रीको भेला दोस्रोपटक हुन लागेको हो । यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक मुख्यमन्त्रीहरूको भेला भएको थियो । भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो ।
उता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने भेलामा सहभागी नहुने भएका छन् । बिहीबारदेखि नै प्रदेशसभामा विश्वासको मत लिनका लागि बैठक चलिरहेका कार्की पोखरामा नजाने भएका हुन् ।
मुख्यमन्त्री कार्कीको सचिवालयका अनुसार विश्वासको मतको कार्यक्रम सकिएमा पोखरा जाने सम्भावना भने रहेको छ ।
यो भेला यसअघि गत जेठ १० गतेका लागि तय भएको थियो । तर प्रधानमन्त्री दाहाल व्यस्त भएका कारण रोकिएको थियो ।