चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन् ।
नेपाल युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताएका हुन ।
बैङ्क र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, “परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ । त्यसको अनुगमन पनि बैङ्कले गर्नुपर्छ ।” उद्यमी बिग्रँदा ऊ मात्रै नबिग्रने बैङ्क पनि बिग्रने भन्दै उहाँले अनुगमनको दायित्व बैङ्कको हुनुपर्ने बताए । आफ्नो नेतृत्वको सरकारको पालामा महिला युवा उद्यमीका लागि तीन प्रतिशतमा रु १५ लाखसम्म ऋण दिन सुरु गरिएको उनले सुनाए । उद्यमशीलताले रोजगारी सिर्जना गर्ने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताएका छन् ।
उनले भने, “अव्यवहारिक नीति सरकारले हटाउनुपर्छ । कृषक र उद्यमीलाई पाँच वर्षका लागि होइन १० देखि २० वर्षका लागि ऋण दिनुपर्छ ।” उत्पादन वृद्धि १० प्रतिशतमाथि पुर्याउन सकिने भन्दै उनले सरकारले अनुशासित ढङ्गले काम गरेमा दुई वर्षमा १० प्रतिशत बढाउन सकिने बताएका छन् ।
नेपाल अब रोजगारी नभएर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले थने, “अहिले नेपालमा एक वर्षमा रोजगारको खोजी गर्ने जति सबै रोजगार छैनन् त्यस कारण अबको बाटो भनेको उद्यमशीलता हो रोजगार होइन ।” नेपालमा बजारीकरणको कुनै समस्या नरहेको भन्दै उनले ठुलो मात्रामा गुणस्तरीय सामान उत्पादन गरेर राम्रो प्याकेजिङ गर्न सुझाव दिएका छन् ।
पुरानो तरिकाले नभएर सहकारी र समूहमा मिलेर धेरै उत्पादन गर्न उनको सुझाव थियो । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने उनले बताए । नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना रहेको भन्दै त्यसको उचित प्रयोग गर्न नसकिएको उनको भनाइ थियो । पछिल्लो समय मजदुर आन्दोलन नभएको हुँदा ती समस्याबाट उद्यमीलाई राहत पुगेको उनले बताए ।
मञ्चका अध्यक्ष विकल दाहालको सभापतित्वमा भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, मञ्चका निवर्तमान अध्यक्ष सूर्यभक्त अधिकारी, पूर्व अध्यक्ष दाताराम घिमिरेलगायतले उद्योग र व्यवसायका क्षेत्रमा देखिएका समस्या र सुझाव राखेका छन् ।
























