विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज संसदमा विश्वासको मत लिँदैछन् । माओवादीले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् ।
१३ सदस्यीय माओवादी र एक सदस्यीय जसपाले सरकार छाडेपछि कार्की अप्ठ्यारोमा परेका छन् । उनीसँग नेकपा एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६ गरी ४६ मत छ । तर कोशी प्रदेश सभामा सरकार बनाउन र विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ । विश्वासको मत पाउन १ मत आवश्यक भएकाले उनी विपक्षी दलबाट तान्ने कसरत गरिरहेका छन् । यता विपक्षी गठवन्धन आफ्नो मत सुरक्षित गर्न निरन्तर सवै सांसदहरुसँग भेटघाट र सम्पर्क गरिरहेका छन् ।
प्रदेशसभामा नेकपा नेपाली कांग्रेसको २९, नेकपा माओवादीका (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ सांसद छन् ।
नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग बुधबार कुरा गर्दै मुख्यमन्त्री कार्कीले बिहीबारको प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका थिए । अहिलेसम्म एमाले र राप्रपाले विश्वासको मत पक्षमा हाल्ने निर्णय गरेको र बिहीबारसम्म अन्य दलमध्येको कोही विश्वासको मत दिन तयार हुने उनको दावी थियो ।
यद्यपि, अहिलेसम्म अन्य दलको कसैले विश्वासको मत दिने निर्णय गरेको छैन । गठबन्धनका नेताहरू एकढिक्का देखिएका छन् ।
कार्कीले विश्वासको मत नपाए कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागिसकेको छैन । जसको नेतृत्वमा सरकार बने पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र उसले पनि विश्वासको मत पाउने सम्भावना न्यून देखिन्छ । विपक्षी गठवन्धनले राप्रपाको समर्थन खोजेको छ । तर राप्रपाले आफ्नो पार्टीले मुख्यमन्त्री पाए मात्र नयाँ गठवन्धनमा जाने सकिने बताएको छ । जसले गर्दा कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना बढ्दै गएको छ ।