काठमाडौं । सरकारले संघीय संसदमा प्रस्तुत गरेको आ व २०८०/८१ को वजेटप्रति विपक्षी दलको मात्र होइन, सत्तारुढ दलकै चर्को असन्तुष्टि छ । सरकारको प्रमुख घटक नेपाली कांग्रेसदेखि स्वयं प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी माओवादीका सांसदहरुले समेत वजेटप्रति असन्तुष्टि जनाएका छन् । तर नेपाली कांग्रेस र माओवादीले वजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकले बजेट पास गर्ने सम्भावित कार्यसूची छ ।
वजेटप्रति चरम असन्तुष्टि रहे पनि सरकारले संशोधन विना नै बजेट पास गर्ने तयारी गरेको छ । वजेटप्रति असन्तुष्टि जनाउँदै संशोधनविना कुनै पनि हालतमा पास हुन नदिने निर्णय नै गरेका सत्तारुढ दल नेकपा एस र जसपाले के गलान् भन्ने चासो सर्वत्र छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरु माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत भएपछि बजेट पास गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।
एकीकृत समाजवादीका शीर्ष नेताहरुले नै बजेट संशोधन नभए पारित गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर मंगलबार ललिता निवास जग्गा हिनामिना प्रकरण व्यूतिएको छ । सो प्रकरणमा नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालको पनि नाम जोडिएको छ । अध्यक्ष नेपाललाई वजेटका पक्षमा मतदान गर्न वाध्य पार्नका लागि एक दिन अघि ललिता निवासको प्रकरण व्यूताइएको टिप्पणी भइरहेको छ ।
यो प्रकरण व्यूँतिएपछि नेकपा एसका नेताहरुको अभिव्यक्ति पनि फेरिएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा पुगेको छ । सो पार्टीका अर्का नेता मेटमणि चौधरीले पनि बजेटको पक्षमा मतदान गर्ने बताएका छन् ।























