काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आज निवासबाटै पक्राउ गरेको हो । उनलाई किन पक्राउ गरिएको हो भन्ने खुलेको छैन ।
संकटग्रस्त सहकारीमा समेत गुरुङको संलग्नता देखिएको बताइएको छ भने ललिता निवासको जग्गा हिनामिना प्रकरणको पनि अभियोग थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मालपोत कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा जग्गा खरिद गरेको आरोप लागेका गुरुङ्गसँग २०७७ सालमा विशेष अदालतले २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर उनी छुटेका थिए ।
ललिता निवासको जग्गा अहिले पनि गुरुङले भाटभटेनीको स्टोरका रूपमा प्रयोग गर्दै आएका छन् ।