काठमाडौं । वचतकर्ताहरुको १४ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतमा पक्राउ गरेर नेपाल ल्याएको छ ।
उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको सीआईबी स्रोतले बताएको छ ।
केदारनाथलाई मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी सीआईबीले सोमबार नेपाल ल्याएको हो । उनकी श्रीमती गितालाई भने यसअघि नै पक्राउ गरिसकेको थियो ।
भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी गरेर पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।
२०७७ सालमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनाइएको थियो । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको सहकारीले देशका ३५ जिल्लामा शाखा कार्यालय खोलेको छ।
शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट पनि ठगी भएको उजुरीमा मोरङ प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
























