काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन् । उनले बजेट असन्तुलित भएकोमा माफी समेत मागे । उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताए ।
उनले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए । मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना-साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे ।
उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरिएको बताए । उनले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे ।

























