काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सोमबार आफ्ना मन्त्रालयमाथिको बजेटमा आएका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले सेनाको संख्यालाई मुलुकको भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकताका आधारमा विश्लेषण गर्न सान्दर्भिक हुने समेत बताएका छन् ।
मन्त्री खड्काले नेपाली सेनाको संख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारले निर्धारण गर्ने कानुनी व्यवस्था रहेको जानकारी दिएका छन् । खड्काले विश्वको बदिलँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराको सामना गर्नुपरेको जिकिर गरेका छन् ।
जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्राकृतिक विपत्ति र महामारीको प्रकोपका कारण पनि सुरक्षा चुनौती थपिँदै अवस्थामा सूरक्षा चूनौति सम्बोधन गर्न राष्ट्रिय सुरक्षा नीतिमार्फत कार्यान्वयनमा रहेको उनले बताएका छन् ।
खड्काले राष्ट्रिय सुरक्षाको सामनाका लागि बृहत्तर राष्ट्रिय दृष्टिकोबाट अगाडि बढ्नु अपरिहार्य रहेको धारणा राखेका छन् । त्यस्तै उनले तराई–मधेससँग छोटो दूरीमा जोड्ने द्रुतमार्ग आयोजनालाई अघि बढाउन सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालनमा रहेको जानकारी दिएका छन् ।
उनले चालु आवको जेठ मसान्तसम्म आयोजनाको भौतिक प्रगति २३.४५ र वित्तीय प्रगति २५.४ प्रतिशत रहेको र आयोजनामा हालसम्म ४४ अर्ब ९० करोड खर्च भइसकेको बताएका छन् । सेनालाई आवश्यक पर्ने सैनिक समाग्री स्वदेशमा नै उत्पादन गर्ने प्रक्रिया अघि बढाइसकेको उनको भनाइ छ ।