काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।
ढकालमाथि एक करोड ४४ लाख ७८१ रुपैयाँ ७१ पैसा बिगो कायम गरी अख्तियारले उक्त आरोप-पत्र दायर गरेको हो ।
ढकालले पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा उक्त रकम अकुत रुपमा आर्जन भएको पाइएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
आयतर्फ स्रोत खुलेको ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ तथा खर्चतर्फ ७ करोड ८४ लाख ५ हजार ९४ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको उल्लेख छ ।
साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रूपमा उक्त रकम बराबरको सम्पत्ति आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।
ढकाल ३२ साउन २०७४ देखि ३० जेठ २०७९ सम्म सदस्य सचिव थिए ।
























