काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको सुनको जलहरीको विषयमा सदनलाई सत्यतथ्य जानकारी गराउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा राखिएको जलहरीमा प्रयोग भएको सुनको मात्रा र हराएको सुनबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।
जलहरीको सुन विवादमा आएपछि आइतबार सुनको मात्रा जोखिएको थियो। तर, यसबारे आधिकारिक जानकारी दिइएको छैन ।
पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो । महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। तर पुष्टि हुन सकेको छैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गरिहेको छ ।




















