काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको बताउँदै लागुऔषध अपराधविरुद्ध राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य रहेको बताएका छन् ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको सर्वाङ्गिण विकास समृद्धि, शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा अघि बढ्न लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य भएको बताएका हुन ।
गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रम कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन् ।
लागुऔषध उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार, उपचार तथा पुनःस्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनःस्थापना, जनचेतनालाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने उनले बताएका छन ।
मन्त्रालयका अनुसार नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ ।


















