काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजबाट विधान अधिवेशन सुरू हुँदैछ । विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो बसेको केन्द्रीय समिति बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेको थियो । त्यो मस्यौदा आजको विधान महाधिवेशनमा पेश हुने छ ।
प्रवक्ता मनिष सुमनका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुने अधिवेशनमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।
बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ ।
हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । बैठकले वि.सं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार पाँच जनलाई पार्टीबाट निष्काशन गरिनुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको हो । कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने सो पार्टीले जनाएको छ ।