काठमाडौं । विश्वकप छनोट खेलमा नेपालले नेदरल्याण्डसलाई जितका लागि १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङ थालेको नेपाले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार पार्यो ।
जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा स्थान बनाउनका लागि दुवै टोलीसामु आजको खेल जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई आजको खेलमा पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । हालसम्म नेपाल र नेदरल्यान्डबीच दुई एकदिवसीय खेल भएका छन् । दुवैले एक/एक खेलमा जित हासिल गरेका छन् ।
आजको खेल हारेको खण्डामा नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो रहने छ ।