काठमाडौँ । नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।
ताकाशिंगा स्पोर्ट्स क्लबमा सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलको लागि टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । वेस्ट इन्डिजसँगको टोलीलाई निरन्तरता दिएको छ । नेपालले पछिल्ला दुई खेलमा टोलीमा परिवर्तन गरेको छैन् । तीव्र गतिका बलर सोमपाल कामी भने जिम्बावेसँगका कारण फिट छैनन् । उनको स्थानमा नेपालले ललितनारायण राजवंशीलाई मौका दिएको थियो । त्यसपछि नेपालले टोलीमा परिवर्तन गरेको छैन ।
प्रतियोगिताको ‘सुपर सिक्स’मा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान १/१ जीत हासिल गरेका छन् ।
जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् ।
अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेलेकाे नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।
सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक अन्य कुनै विकल्प छैन । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । तर विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।
इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा नेदरल्यान्ड्सका प्रमुख पहिलो रोजाईका बलर टोलीमा छैनन् । तर पनि डच टोलीको कुनै भर हुँदैन । दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले नेपालले भन्दा माथिल्लो स्तरको १२ टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । प्रमुख खेलाडी नभएपनि नेदरल्यान्ड्स नेपाललाई स्तब्ध पार्न सक्छ । त्यसैले नेपाल सचेतका साथ उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।
नेपालले वेस्टइन्डिजको खेलबाट टोलीमा परिवर्तन गर्ने कुनै सम्भावना छैन । तीव्र गतिका बलरमा करण केसी र गुलशन झा हुनेछन् । यी दुई तीव्र गतिका बलरले राम्रो प्रदर्शन गर्दै आएका छन् । सोमपाल कामी भने अझै फिट भएका छैनन् । तेस्रो तीव्र गतिका बलरमा आरिफ शेख हुनेछन् ।
स्पिनरमा सन्दीप लामिछाने र ललित नारायण राजवंशी हुनेछन् । ललितले विश्वकप छनोटमा सानदार प्रदर्शन गरेका छन् । तर सन्दीपको प्रदर्शन अपेक्षा अनुसार छैन ।
नेपालको ब्याटिङक्रम पनि परिवर्तन गर्ने छैन । तर खेलको अवस्थामा भर पर्नेछ । सामान्य अवस्थामा ओपनिङ आसिफ र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा भीम सार्की, चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्ल हुनेछन् । छैटौंमा आरिफ, सातौंमा दीपेन्द्र र आठौंमा गुलशन झा हुनेछन् ।
करण केसी नवौं, सन्दीप दशौं र ललित-११ औं नम्बरमा हुनेछन् । नेपालको ब्याटिङ करण केसी सम्म राम्रो छ । अर्थात नेपालको ब्याटिङ नवौं नम्बर सम्म छ । यो अवस्थामा नेपालले खराब सुरुवात गर्दा पनि राम्रो योगफलमा पुग्न सक्छ ।
प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।
हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।
सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ ।
नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग-२ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र युएई लिग-२ बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।
श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।