काठमाडौं । नागरिकताविहीन संर्घष समितिले नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसंगै संविधानको रक्षा भएको जनाएको छ ।
नागरिकताका बिषयमा सर्वोच्च अदालतको आदेशपछि सरोकारवाला सवैलाई धन्यवाद दिन शुक्रबार काठमाडौको माइतिघरमा आयोजित कार्यक्रममा समितिले केही व्यक्ति र दलहरुले नागरिकता विधेयकलाइ अघि बढाउन नदिने प्रयत्न गर्दै संविधानलाई नै असफल बनाउन खोज्ने षडयन्त्रलाई चिर्दै नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसंगै संविधानको रक्षा भएको जनाएको हो ।
संर्घष समितिका अध्यक्ष इन्द्रजित साफीले सर्वोच्च अदालत र राष्ट्रपतिले संविधानलाई जोगाएको भन्दै बिधेयकमा विदेशीलाई नागरिकता दिनुपर्छ भनेर कहि पनि नलेखिएको बताएका छन् । उनले विदेशीलाई नागरिकता दिनबाट रोक्नका लागि देशका सवै जिल्लामा संघर्ष समितिका तर्फबाट १०–१० जनाको प्रतिनिधि राख्ने जानकारी दिएका छन् ।
साफीले देशको मधेशी दलले नागरिकता मुद्धालाई भोटको मुद्दामात्रै बनाएको र आफुहरुले भोटको खानी भाडो खोस्न सफल भएको जिकिर गरेका छन् ।
कार्यक्रममा सहभागी युवाहरुले हामी सवै एक हौ, हिमाल पहाड तराई, कोही छैन पराई, सर्वोच्च अदालत, राष्ट्रपति धन्यवाद, सहीद निरज झालाई न्याय दे लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो ।
























