ओखलढुङ्गा । पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । अविरल वर्षाका कारण गएराती पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।
दुई जनाको ज्यान गएको थियो भने २ जना बेपत्ता भएका थिए । बेपत्ता २ जनाको समेत शव भेटिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउदा गुरुङ सँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो ।
आमा बाबुको शव बिहानै भेटिएपनि बेपत्ता छोराछोरीको शव स्थानीय र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।
राती करिब ११ बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले गुरुङकोसँगै अन्य तीन घर पहिरोले बगाएको छ । बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको छ । अन्यले भागेर ज्यान जोगाएका थिए । पहिरोले पुरिएर ४ जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ ।
























