काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले एक करोड ४२ लाख ५२ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनले आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति आफू र आफ्नो श्रीमती मंजुदेवी यादवसमेतको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद लगायतमा खर्च गरेका थिए ।
यादवले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४८ फागुन ९ गतेदेखि अवकाश पाएको मिति २०७९ जेठ ९ गतेसम्म उक्त रकमको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ ।
श्रोत नखुलेको सम्पत्ति बराबरको बिगो र जरिवानाको मागदाबी गर्दै आयोगले बिहीवार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
यादवले सार्वजनिक सेवाको पदमा रहेर पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती मंजुदेवीसमेतको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको अभियोग पत्रमा उल्लेख छ । अख्तियारले उनकी श्रीमती मंजुदेवीलाई पनि प्रतिवादी कायम गरेको छ ।

























