काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
साविक उपविजेता बनेको नेपाल सुरुवाती खेलमा पराजित बन्न पुग्यो ।
कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे ।
नेपालका अन्जन विष्टले एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।
खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।
नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि खेलको ६८ औं मिनेटमा अन्जनले गोल गरेपनि नेपाल ३–१ ले पराजित भयो ।
समूह ‘ए’ मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।
यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।
साफ च्याम्पियनसिपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा अब शनिबार घरेलु टोली भारतसँग खेल्नेछ । यो समूहमा पाकिस्तान पनि छ ।