पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज आज अवतरण भएको छ । चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा अवतरण गरेको हो ।
सो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो । सो जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत रहेको थियो ।
जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने बताइएको छ ।
१ जनवरी २०२३ मा हिमालयन एयरलाइन्सको परीक्षण उडान पछि सन्चालनमा आएको पोखरा विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो ।