काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो । यसअघि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको समितिले बोर्डसंग छलफल गरेपछि प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
समिति सभापति सन्तोष चालिसेले यस बिषयमा देखिएका अस्पष्टता हटेकाले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताएका छन् । बैठकले धितोपत्र दलाल र व्यापारिलाई मापदण्ड पुगेको अवस्थामा मात्रै अनुमति पत्र दिनका लागि अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय भएको चालिसेले बताएका छन् ।
बैठकमा धितोपत्र बोर्डका अध्यक्ष अध्यक्ष रमेश हमालले तोकिएको मापदण्ड र प्रक्रिया पुरा गरेकालाई अनुमति दिने जानकारी दिएका छन् । अनुमति पत्र दिने निर्णय व्यक्तिगत नभई सञ्चालक समितिको भएको भन्दै पारदर्शीतालाई ध्यानमा राखिएको उनले बताए । उनले लामो समयदेखिको सिण्डिकेट वा कोटा सिस्टमलाई अन्त्य गर्दा केहिको बिरोध र उजुरी आउनु स्वभाविक रहेको भन्दै नियत र काममा कुनै कमि कमजोरी भए सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन् ।
बैठकमा समिति सदस्यहरुले ऐन र नियममा टेकेर हुने राम्रा कामको सधै समर्थन रहने भन्दै विवादीत बिषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए । बोर्डका कामकारवाहीहरु पारदर्शीताका साथ अघि बढाउनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।