काठमाडौँ । पूर्वी नेपालको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली प्रस्थान गरेको छ ।
प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन ।
भ्रभण टोलीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ छन् भने प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी रहेको बताइएको छ ।
त्यस्तै टोलीमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि रहेको बताइएको छ । प्रधानमनत्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ ।
आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको बताइएको छ ।



















