विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ ।
आज बिहान विग होटलमा वार्ता गर्न लागिएको वार्ता समितिका सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले बताएका छने् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।
सरकारले समिति बनाएर वार्ताको आह्वान गरेपछि पहिचान पक्षधरले पनि आइतबार वार्ता समिति बनाएका थिए । वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् । उनीहरु विभिन्न पार्टी र जातीय संघ संस्थाका प्रतिनिधि हुन् ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित आन्दोलन गर्दै आएका छन् ।