काठमाडौं । माओवादी केन्द्रदेखि विप्लव माओवादी समेतका पाँच वटा पार्टीले आज समाजवादी मोर्चा घोषणा गर्दैछन् । राष्ट्रिय सभागृहमा आज अपराह्न ३ बजे घोषणा सभा आयोजना गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताएका छन् ।
नेकपा माओवादी केन्द्र, जजनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुने सहमति भएको बताइएको छ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको बताइएको छ ।
मोर्चाले संसदभित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने नेताहरुले बताएका छन् ।
मोर्चाले विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न समन्वयकारी भूमिकासमेत खेल्न सक्ने बताइएको छ ।
मोर्चामा जनयुद्धको उद्देश्य अपूर्ण भएको भन्दै क्रान्तिको फेटा गुथिरहेका विप्लवदेखि गेरुवस्त्र पहिरिन थालेका प्रचण्डसम्म सम्मिलित भएकाले मोर्चा कसरी अघि बढ्छ भन्ने द्विविधा कायमै छ ।