काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्याए कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत शाहले विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले काठमाडौं महानगरभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको जानकारी दिए ।
मेयर शाहले काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिए । उनले विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै पनि संस्था वा कर्मचारीलाई कारवाही गर्ने बताए। मेयर शाहले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने उल्लेख गरेका छन् ।
यसैगरी विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने र काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।



















