काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको शैक्षिक मेला ‘आठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ मा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेको छ ।
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोलीले जुत्ता चप्पल मेला र कान्तिपुर पब्लिकेशन र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेको कान्तिपुर हिसान शैक्षिक मेला समन्वय नगरी राखिएको भन्दै हटाएको हो ।
एसईईको नतिजा नआउँदै १० जोड २ भर्नाका लागि विद्यार्थी र अभिभावकलाई दवाव, प्रभावमा पारिएको महानगरको आरोप छ ।
महानगरकको हस्तक्षेपपछि आयोजकले सहमतिका लागि आग्रह गरिरहेका छन् ।
महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाएर मुख्य गेटमा ताला लगाइदिएको छ ।
नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य भएकाले स्टल बन्द गर्नु परेको नगर प्रहरी प्रमुख पाण्डेले बताएका छन् ।
मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेको असार ३ गतेसम्म सञ्चालन हुने मेलाको उदघाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।
![]()

























