काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।
आज बसेको समितिको वैठकमा कार्कीले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताएका छन् । समितिको शुक्रबार ८ वजे बस्ने वैठकमा सवाल जवाफ हुने तय भएको छ ।
तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताएका छन् ।
करिब साढे तीन महिना महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेपछि न्यायाधीशको प्रस्ताव आएको बताउँदै उनले २०७२ साल फागुन १८ गते न्यायाधीशमा सिफारिस भएको भएपनि २०७३ साउन १७ गतेमात्र न्यायाधीश बनेको जानकारी गराएका छन् ।
२०४० सालमा कानुन व्यवसायमा प्रवेश गरेदेखि हालसम्म पनि इमान, निष्ठा र व्यवसायीक धर्मलाई पूर्णरुपमा पालना गरेको उनको दाबी छ । उनले हालसम्म ५५८६ मुद्दा फैसला गरेको जानकारी पनि गराएका छन् ।
गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।
संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।