काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
दाङको बेलझुण्डीमा आज आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको बताए ।
विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको उल्लेख गर्दै उनले कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुन छात्रछात्रालाई आग्रह गरे ।
सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उल्लेख गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए ।
उनले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको बताए ।
प्रधानमन्त्री दाहालले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे । (रासस)