काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखापरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले नक्कली शरणार्थी प्रकरण, मिटरव्याजी समस्या र विना पैसा कुनै पनि काम नहुने अवस्थाले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखापरेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले राजनीतिकको स्तर माथि उठाउनका लागि, राजनीतिमा देखिएको वितृष्ण घटाउनका लागि आफुहरुले नयाँ यात्रा प्रारम्भ गरेको उल्लेख गरेका छन् । उनले इमान्दारहरु पछि गर्ने अवस्थालाई परिवर्तन गर्नकै लागि सवैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष नेपालले संविधानमा आँच आउन नदिन सजकतापूर्वक अघि बढ्दै संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई स्थापीत गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
त्यस्तै सत्तापक्षका नेता समेत रहेका नेपालले बजेट असन्तुलित भएको उल्लेख गर्दै पास हुन नदिने चेतावनी दिएका छन् ।
‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ। अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ। यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन’ उनले भने, ‘हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।’
बजेटलाई डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रिकृत गरेको आरोप पनि उनले लगाएका छन् । डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो भने गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो। यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोटबाट समानुपातिक सांसद हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो । अब त्यो ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०÷७५ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा। यसरी बजेट विनियोजन भएको छ । आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन। आजको जनता २०४८ सालको जनता होइन । अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ। सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन ।’
राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।