काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानूनी कारवाही गर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई पनि नरहेको भन्दै दोषीलाई कारवाही गर्ने स्पष्ट पारेका छन् । उनले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चूनौति उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताएका छन् ।
मन्त्री श्रेष्ठले इलाममा कोशीका पूर्वमन्त्री रामरान मगरको गाडीमा पहिचानबादी भन्नेहरुले सडकमा ढुङ्गामुडा राखेर अवरोध गर्न खोजिएको देखिएपनि कालोमोसो दलिएको वा अरु केहि गरिएको प्रचार सत्य नभएको बताएका छन् ।
त्यस्तै उदयपुरमा प्रदेश सभाकी उपसभामुख सृजना दुनुवार सवार गाडीको झण्डा थुत्ने काम भएको र ढुङ्गा प्रहार गर्ने काम भएको उनले जानकारी दिए । श्रेष्ठले सम्बन्धीत दोषीहरुलाई कानूनको दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।
उनले संघीयताको रक्षा गर्न सके यससम्बन्धी दृष्टिकोणलाई शान्तिपूर्ण बाटोबाट बैधानिक रुपमा स्थापीत गर्न सकिने बताएका छन् ।