ललितपुर । भारत सरकारले सहयोगस्वरूप दिने भनिएका मुर्रा जातका १५ वटा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने भएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएका राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने बताए ।
नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ ।
सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् ।
उनले भने, ‘स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादन तीन गुणाले बढाउन सकिन्छ ।
उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुर्याइ भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिनेछ । भैँसीपालन पेसाबाट किसान पछि हट्दै गएको अवस्थामा आउने दिनमा भैँसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।