काठमाडौं । अर्को महिना भारतको बेङ्गलुरुमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
प्रशिक्षक एनेसले तीन गोलकिपरमा कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ र दीप कार्कीलाई समेटेका छन्। यस्तै, डिफेन्डरमा विमल पाण्डे, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्थ थापा परेका छन्।
मिडफिल्डरहरू पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा, लाकेन लिम्बु, आभाष लामिछानेले स्थान बनाएका छन्।
यस्तै, फरवार्डहरू आयुष घलान, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, मनीष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर अन्तिम टिममा परेका छन्।
विमल यसअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा राष्ट्रिय टिममा परेका थिएनन्। यद्यपि, उनले यसपाली पुनरागमन गरेका छन्। यस्तै, सिमन्थ, आभाष र लाकेन लिम्बु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।
नेपालले जुन १५ मा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यहाँबाट नेपाली टिम सोझै साफ च्याम्पियनसिपका लागि भारत जानेछ ।




















