बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
बुटबलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको विकास मोडेलबारे पुनविचार गर्न आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले सरकार इमानदारीपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति,सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि आफ्नो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त रहेको धारणा राखे ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उल्लेख गरे।
उनले उच्च मुद्रास्फीति र अस्थीर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला,उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास व्यक्त गरे ।