विराटनगर । कोशी प्रदेश सरकारका दुवै जना माओवादी मन्त्रीले राजीनामा दिएका छन् । पार्टीका संसदीय दलको वैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका दुवै जना मन्त्रीले राजीनामा दिएका छन् ।
माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेश संसद सचिवालयलाई गराएको थियो थियो भने मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
कोशी प्रदेश सरकारलाई समर्थन गरेको जसपाले यसअघि नै समर्थन फिर्ता लिइसकेको थियो । अब माओवादीले समेत समर्थन फिर्ता गरेपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । नयाँ गठवन्धन बनाएर अघि बढ्ने नेपाली कांग्रेसको दवाव पछि माओवादीले समर्थन फिर्ता गरेको हो । तर नयाँ गठवन्धनलाई वहुमत पुर्याउन फलामको चिउरा सावित हुने छ भने मुख्यमन्त्री कार्कीले पनि विश्वासको मत जुटाउन त्यति नै मुस्किल देखिएको छ ।
पुरानो गठवन्धनको सहयात्री राप्रपाले नयाँ गठवन्धनलाई समर्थन गरेमा सहज हुने छ । तर राप्रपा समर्थन गर्ने सम्भावना न्यून देखिन्छ । आफ्नो पार्टीले मुख्यमन्त्री पाए मात्र नयाँ गठवन्धनमा जान सकिने राप्रपाले जनाएको छ । त्यसैले कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना पनि बढ्दै गएको छ ।