डोटी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड पुगेका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तड आएका हुन्। खप्तडमा पहिलो पटक आध्यात्मिक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव,पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण,महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहनेछ ।
सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा सिकाउने कार्यक्रम रहेको छ। तीन दिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भएको छ।
सो समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन् । यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ ।
खप्तड क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो क्षेत्रमा खप्तड बाबाको कुटी,सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन,५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ ।
सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, देउडा, गौरा,पुतला नाचलगायत प्रस्तुत गरिनेछ । डोटी,अछाम,बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ ।
खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रपछि मात्र खप्तड पुगिन्छ । (रासस)