विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताएका छन् ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।
कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति बनाइएको अध्यक्ष नेम्वाङले बताएका छन् ।
पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् ।