दाङ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली काँग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री थापाले पार्टीको उपल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टी भित्र गुट उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृतिको विकास भएको बताएका छन् ।
थापाले अहिले स्थानीयदेखि केन्द्रसम्म सरकारमा काँग्रेस भएपनि पार्टीप्रति जनताको कुनै भरोसा नभएको उल्लेख गरेका छन् । त्यसका लागि पार्टीभित्रको सम्पूर्ण पद्धतिनै फेरबदल गर्नुपर्ने थापाले बताएका छन् । महामन्त्री थापाले सुशासन र पारदर्शीता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउनका जनप्रतिनिधीहरुलाई निर्देशन दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले गाली गरेर पार्टी नबन्ने धारणा सार्वजनिक गरेपछि त्यसको काउन्टर दिँदै महामन्त्री थापाले गलत निर्णयको पक्षमा ताली बजाएर पार्टी नबन्ने बताएका छन् । उनले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने, गलत निर्णयका विरुद्ध आवाज उठाउन सक्नुपर्ने बताएका हुन् ।
नेपाली काग्रेसबाट निर्वाचीत लुम्बिनी प्रदेशका १ सय ९ जनप्रतिनिधीहरुलाई लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष लहकुल केसी, नेपाल सरकारका पुर्व मुख्य सचिव सोमलाल सुवेदी लगाएतले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।