काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सदनबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको आरोप लगाउँदै मिचिएको संविधानलाई सही ठाउँमा ल्याइएको तर्क गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, “एउटा राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हकमा आफ्नो दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिती थियो । खारेज गर्ने स्थिति थिएन । फेरि फिर्ता पठाउन पनि सम्भव थिएन । सदनले दुई दुई पटक पारित गरिसकेको विधेयक राष्ट्रपति कार्यालयको दराजमा राखिएको थियो । फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान हुने थियो ।”
सरकारको तर्फबाट राष्ट्रपति कार्यालयमा त्यो विधेयक पुगेको छ भनेर जानकारी मात्र दिएको बताउँदै भने “मलाई भन भन भन्नुभयो तपाईंहरुले । यो विधेयकबारे सरकारले राष्ट्रपतिलाई जानकारी दियो । यो पहिल्यै दुइवटै सदनबाट पारित भएर आएको हो, तपाईंको दराजमा होला हेर्नुस् त, तपाईंले प्रमाणीकरण गर्न मिल्छ भनिएन भने र फेरि यहाँ प्रस्तुत गरियो भने के हुन्छ ?”
‘दुवै सदनबाबट दुई पटक पारित भएर राष्ट्रपतिकोमा गएको, राष्ट्रपतिले होल्डमा राखेको विधेयकको हैसियत के हुन्छ ? भनेर संविधानले प्रष्ट रुपमा केही पनि भनेको छैन,’ प्रधानमन्त्रीले भनेका छन्।