काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि भारत भ्रमणका क्रममा आफूले प्रष्टताका साथ कुरा राखेको दावी गरेका छन् ।
जेठ १७ देखि १२ गतेसम्म भएको भारत भ्रमण र नागरिकता विधेयकका बारे प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको सोमबारको प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग सीमा समस्यासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न आग्रह गरेको बताएका छन् । उनले आफ्नो आग्रह अनुसार संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमा लगायत थाँती रहेका विषय समाधान गरिने प्रतिवद्धता जनाएको बताए ।
मोदीले सीमाबारे लामो समयपछि स्पष्ट बोलेको यो पहिलो पटक भएको बताउँदै दाहालले नेपाल–भारतबीच रहेका सीमाबाहेक डुबान समस्यबारे पनि आफूले कुरा राखेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपाली भूमि नै भएकाले यी समस्या समाधान नभएसम्म नेपाल–भारत सम्बन्ध सुधार हुन नसक्ने स्पष्ट पारेको दावी गरेका छन् । सीमा समस्या समाधान गरेर नेपाल–भारत सम्बन्ध हिमालको उचाइमा पुर्याइन्छ भनेर बोलेको पहिलो पटक भएको उनले बताएका छन् ।
उनले आफूले सीमाबारे आन्तरिक छलफलमा राखे पनि भारतीय प्रधानमन्त्रीले पत्रकार सम्मेलनमै बोलेको बताए ।
त्यस्तै उनले कालापानीबारे आफूले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ नभनेको दावी गर्दै आफूले नेपालको भूमि नेपालकै हुनुपर्छ भनेको बताएका छन् ।
केही बुद्धिजीवीहरुले सीमा समस्या समाधान गर्न बंगलादेशी मोडल अपनाएर बंगलादेश जाने बाटो पाउन सके कालापनी साट्न सकिने बताउँदै आफूले त्यस्तो कुनै कुरा नगरेको स्पष्टिकरण दिएका छन् ।
कालापानीसँग पूर्वीनाका साट्ने कुरा आफ्नो नभइ विज्ञहरुको भएको बताउँदै दाहालले विज्ञहरुबाट यस्ता विकल्प पनि आएका छन् भनेर राखेको कुरालाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।
‘कहीँ कोही कन्फुजन नहोस् कालापानी लिम्पियाधुरा र लिपुलेक हाम्रो भन्ने मैले प्रष्ट राखेको छु’, उनले भने, ‘पञ्चेश्वर पनि आएको छ, बाढी र डुबान पनि आएको छ। धेरै कुरा समेटिएका छन्। हामीले धेरै हल्ला गर्दा कुरा अड्किन्छ भन्ने भएको छ।’
उनले सांसदहरुलाई यथार्थ जे हो, तथ्य जे हो त्यो बुझिदिन आग्रह गरेका छन् ।