काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका छन् । सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेपछि उनी विपक्षीले उठाएका प्रश्नको प्रष्टिकरण दिन तयार भएका छन् ।
आइतबार प्रतिनिधिसभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए । सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए ।
सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आज (सोमबार)को संसद्मा आफूले प्रस्टीकरण दिने बताए पछि सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत् विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका थिए । तर सहमति हुन सकेको थिएन ।
सभामुख घिमिरेले आज बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने बताइएको छ । नेकपा एमालेलगायत प्रतिपक्षी दलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा गएर अतिक्रमित भूमि साटफेर गर्न सकिने अभिव्यक्ति दिएको विरोधमा नाराबाजी गरेपछि आइतबार सुरु हुनासाथ दुवै सदनका बैठक स्थगन भए । उक्त बैठक पुनः आज राख्ने तयारी छ । त्यसअघि नै दलहरुवीच सहमति गराएर सदन चलाउने तयारी सभामुख घिमिरेले गरेका छन् ।