काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको वैठक १ बजेका लागि बोलाइएको छ ।
हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् । बैठक सञ्चालनका लागि आज सभामुखले दलहरूसँग छलफल गर्ने बताइएको छ ।
आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले, राप्रपा, रास्वपा लगायत प्रतिपक्षी दलहरूको विरोधका कारण बैठक अवरुद्ध भएको थियो ।
विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा अभिव्यक्त विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।
विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेर दलहरूबीच सहमतिको प्रयास गरेका थिए । तर दलहरुबीच सहमति नभएपछि आइतबार बैठक बस्न सकेको थिएन । आज पनि वैठक खुल्ने सम्भावना कम छ । प्रतिपक्षी दलहरुले राष्ट्रपतिबाट प्रमाणिकरण गरिएको नागरिकता विधेयक असम्वैधानिक भएको भन्दै नयाँ प्रक्रियाबाट अघि बढाउनु पर्ने र प्रधानमन्त्री दाहालले माफी माग्नुपर्ने माग राखेका छन् ।
दुवै सदनमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने संसद सचिवलायको सम्भावित कार्यसुचिमा उल्लेख छ ।